काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार अभियानका क्रममा एक जनाको शव फेला परेको छ।
उद्धार टोलीले सुरुङबाट शव बाहिर निकाले पनि मृतकको पहिचान भने खुल्न बाँकी रहेको जनाएको छ।आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको टोलीले सुरुङभित्रबाट शव निकाल्न सफल भएको हो।यसअघि सोही सुरुङबाट दुई जनालाई सकुशल बाहिर निकालिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो।उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको सुरुङभित्रको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको हुनसक्ने अनुमान गरिएको छ। तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको अनुमान छ।सुरुङभित्र अझै मानिसहरू फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ। उद्धार टोलीले भूमिगत विद्युत् गृह क्षेत्रमा थप व्यक्तिको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ