काठमाडौं । प्रतिनिधिसभाको बैठक अब ६ दिनपछि बस्ने भएको छ। बिहीबारको बैठक सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भदौ २४ गते दिउँसो १ बजेका लागि तोकेका हुन्।
बिहीबार बसेको बैठकमा सांसदहरूले पछिल्लो समय देखिएको बाढी तथा विपद्का विषयलाई प्रमुखताका साथ उठाएका थिए। विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, प्रभावितको उद्धारमा भएको ढिलाइ तथा जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको थियो।बैठकमा ‘ग्रीन आर्मी’को वैधानिकता लगायतका समसामयिक विषयमा पनि सांसदहरूले सरकारसँग जवाफ माग गरेका थिए।यसै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गरेका थिए।त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता सदनमा प्रस्तुत गरिन्।सभामुख अर्यालले अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराउँदै बिहीबारको बैठक स्थगित गरेका हुन्।