काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नुवाकोटको विदुर आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, नागरिकका आवश्यकता तथा विपद्पछिका सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी लिन मन्त्री मेहता नुवाकोट पुगेकी हुन्।अनुगमनका क्रममा उनले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, त्रिशूली बजार र नदी आसपासका प्रभावित क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेका आश्रयस्थलको निरीक्षण गरिन्।मन्त्री मेहताले प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। उनले बाढीका कारण घाइते भएका नागरिक, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग पनि भेट गरेर स्वास्थ्य सेवाको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताइएको छ।
अनुगमनपछि मन्त्री मेहताले बाढी प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था, स्वास्थ्यकर्मीको परिचालन र विपद्पछि फैलिन सक्ने सरुवा रोग नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ।बाढीपछि प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तथा मनोसामाजिक समस्यालाई समेत सरकारले प्राथमिकतामा राखेको मन्त्री मेहताले बताइन्। उनका अनुसार विभिन्न सेल्टरमा मनोपरामर्शदाता परिचालन गरी आवश्यक परामर्श तथा उपचार सेवा उपलब्ध गराउने काम भइरहेको छ।विपद्पछिको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने सरकारको योजना रहेको मन्त्रालयले जनाएको छ।