काठमाडौं । बाढीका कारण लामो समय पानीमा रहेका तथा पहिचान गर्न कठिन भएका शवलाई सरकारले स्वास्थ्य मापदण्डअनुसार अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ।
शव व्यवस्थापनअघि प्रत्येक मृतकको डीएनए नमुना संकलन गरी सुरक्षित राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भविष्यमा परिवारले पहिचान गर्न चाहेमा डीएनए नमुनाका आधारमा विवरण मिलान गर्न सकिने जानकारी दिए। आवश्यक परे धार्मिक संस्कार तथा पहिचानका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइने पनि उनले बताए।प्रवक्ताका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९०३ शव निकालिएको छ भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेका छन्। करिब ३८ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।शव पहिचानको कामलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोगसमेत लिइएको छ।
भारतबाट डीएनए परीक्षणमा विशेषज्ञता भएको १८ सदस्यीय फरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा कार्यरत छ। सिंगापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली ल्याउने विषयमा पनि समन्वय भइरहेको छ।शव सुरक्षित व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्यागलगायत आवश्यक सामग्री प्राप्त गरेको मन्त्रालयले जनाएको छ। साथै भारत, चीन, यूएईलगायत देशबाट टेन्ट, कम्बल, खाद्यान्न, औषधि, जेनेरेटर, सोलार बत्ती र डीएनए परीक्षण सामग्रीसहित मानवीय सहायता प्राप्त भइरहेको छ।सरकारले बेपत्ता नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ। भारत, चीन र दक्षिण कोरियाबाट आएका प्राविधिक तथा उद्धार टोलीलाई विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।परराष्ट्र मन्त्रालयले विपद्सम्बन्धी सूचना सार्वजनिक गर्दा आधिकारिक तथा प्रमाणित तथ्यांकलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ। पुनर्स्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकनसमेत भइरहेको मन्त्रालयले जनाएको छ।