काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक नगर्न आग्रह गरेको छ।
परिषद्ले मंगलबार सूचना जारी गर्दै बाढीपछि बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा प्रदान गर्ने क्रममा खिचिएका फोटो र भिडियो अनधिकृत रूपमा सार्वजनिक नगर्न व्यक्ति तथा सम्बन्धित संस्थालाई अनुरोध गरेको हो।बाढीबाट प्रभावित बालबालिकाको गोपनीयता, व्यक्तिगत मर्यादा र बाल अधिकार संरक्षणलाई प्राथमिकता दिनुपर्ने परिषद्को भनाइ छ। विपद्को अवस्थामा बालबालिकाको अवस्था देखाउने सामग्री सार्वजनिक गर्दा उनीहरूको अधिकार तथा सुरक्षामा असर पर्न सक्ने भएकाले विशेष संवेदनशीलता अपनाउन परिषद्ले आग्रह गरेको जनाएको छ।परिषद्का अनुसार फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्स (ट्विटर) लगायतका डिजिटल तथा सामाजिक सञ्जालमा त्यस्ता सामग्री पोस्ट वा प्रसार नगर्नुपर्नेछ।उद्धार तथा राहतका क्रममा बालबालिकाको तस्बिर वा भिडियो खिच्नै परे पनि उनीहरूको पहिचान, गोपनीयता र मर्यादामा असर नपर्ने गरी बाल अधिकारसम्बन्धी मापदण्ड पालना गर्न परिषद्ले सम्बन्धित सबैलाई आग्रह गरेको छ।