काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ।
नेपाली सेनाले मंगलबार बिहान ११ बजेसम्म हवाई माध्यमबाट २३ जनाको उद्धार गरेको जनाएको छ।बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा स्वदेशी तथा विदेशी विशेषज्ञ सम्मिलित संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ। जोखिमयुक्त क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ।चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब ५० मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ। लाङटाङ हाइड्रोको सुरुङमा करिब १ सय ५० मिटर र अपर त्रिशूली–१ आयोजनाको सुरुङमा करिब २ सय मिटरसम्म प्रवेश गरी खोजी तथा उद्धारको काम भइरहेको छ।त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको प्रवेश बिन्दु फेला परेको छ। सुरुङभित्र पर्याप्त हावा पुर्याउन कम्प्रेसर सञ्चालन गरिएको छ भने भित्र जम्मा भएको पानी बाहिर निकाल्ने काम पनि भइरहेको छ। सुरुङको पछाडिबाट वैकल्पिक पहुँचमार्ग बनाउन तीनवटा एक्स्काभेटर प्रयोग गरी करिब १५ मिटर भाग खोलिएको जनाइएको छ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाबाट यसअघि नै २७९ जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना र मैलुङबाट ९ जना रहेका छन्।त्यस्तै, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना तथा देवघाट जलविद्युत् आयोजनाबाट ५ जनालाई उद्धार गरिएको विवरण सेनाले सार्वजनिक गरेको छ।जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमयुक्त संरचनामा अझै पनि खोजी आवश्यक रहेकाले विशेषज्ञसहितको टोलीले निरन्तर अभियान सञ्चालन गरिरहेको जनाइएको छ।