काठमाडौं । विपद् प्रभावित जिल्लाबाट पोस्टमार्टमका लागि काठमाडौं ल्याइएका अधिकांश शवको अझै पहिचान खुल्न सकेको छैन।
रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका १ सय १४ शवमध्ये हालसम्म १३ जनाको मात्रै सनाखत भएको छ।पहिचान खुलेका १२ शव सम्बन्धित परिवारले बुझेर अन्तिम संस्कार गरिसकेका छन्। बाँकी एक शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन्।पहिचान हुन नसकेका ४६ शवलाई भने सुरक्षित व्यवस्थापनका लागि काठमाडौंको गोकर्ण क्षेत्रमा अस्थायी रूपमा गाडिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका क्षेत्रको जंगलमा ती शव व्यवस्थापन गरिएको हो।स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरेर सोमबार शव व्यवस्थापन गरेको जनाएको छ। पहिचान नखुलेका शव तथा फेला परेका शरीरका टुक्राबाट डीएनए नमुना संकलन गरिएको छ। साथै, फिंगरप्रिन्ट र प्रत्येक शवका पाँचवटा फोटोसमेत अभिलेखका लागि सुरक्षित गरिएको प्रशासनले जनाएको छ।डीएनए, फिंगरप्रिन्ट तथा अन्य विवरणका आधारमा आगामी दिनमा पहिचान प्रक्रिया अघि बढाइने जनाइएको छ। विपद्मा बेपत्ता भएका व्यक्तिका आफन्तबाट प्राप्त नमुनासँग मिलान गरेर शवको पहिचान गर्ने तयारी भइरहेको छ।