काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि पाथीभरा क्षेत्र विकास समिति र आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिले बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। समितिको सोमबार बसेको बैठकले उक्त रकम कोषमा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आर्थिक सहायता सम्बन्धी छुट्टै कार्यविधि तयार गरी लागू गर्ने निर्णयसमेत समितिले गरेको छ। यसैगरी, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ५१ हजार ७ सय ६४ रुपैयाँ पठाएको छ। गाउँपालिकाको ६८औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको १५ दिन बराबरको सेवासुविधा तथा कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकम संकलन गरेर राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु दिपेन का अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ र २८ जना जनप्रतिनिधिको १५ दिनको सेवासुविधाबापत १ लाख ७७ हजार ४ सय ५७ रुपैयाँ संकलन गरिएको हो। त्यस्तै, गाउँपालिकामा कार्यरत १सय २ जना कर्मचारीको आधारभूत तलबको १० प्रतिशतबाट ३ लाख ७४ हजार ३ सय ७ रुपैयाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जानकारी दिए। जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित गरी कुल ६ लाख ५१ हजार ७ सय ६४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।