काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नयाँ सदस्यहरू नियुक्त भएका छन्। नेपाल सरकार र कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा परिवर्तन गरिएको हो।
बैंकका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्सालले जिम्मेवारीबाट बिदा भएका छन्। त्यस्तै, कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका जीवनकुमार कट्वाल पनि समितिबाट बाहिरिएका छन्।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गरिएको सूचनाअनुसार अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशीलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको छ।यसैगरी, कर्मचारी सञ्चय कोषको प्रतिनिधिका रूपमा सुवाष खड्कालाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।नवनियुक्त तीनै जना सञ्चालकले आ–आफ्नो सम्बन्धित निकायको प्रतिनिधित्व गर्दै नेपाल बैंकको सञ्चालक समितिमा जिम्मेवारी सम्हाल्नेछन्।