काठमाडौं । नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका भारतीय नागरिकको शव पहिचान तथा भारत लैजाने प्रक्रियाबारे जानकारी सार्वजनिक गरेको छ।
दूतावासले मृतकका परिवार तथा आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएका शवका तस्बिर र विवरण हेरेर सम्भावित पहिचान गर्न आग्रह गरेको छ। पहिचानका लागि आवश्यक परे मृतकसँग सम्बन्धित तस्बिर, परिचयसम्बन्धी विवरण वा डीएनए प्रोफाइल उपलब्ध गराउनसमेत दूतावासले अनुरोध गरेको छ।शव पहिचान भएपछि भारतीय दूतावासले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरेर शव भारत पठाउने प्रक्रियामा सहजीकरण गर्ने जनाएको छ।विदेशी नागरिकको शव हस्तान्तरण गर्न नेपाल सरकारले विभिन्न औपचारिक प्रक्रिया तोकेको दूतावासले जनाएको छ। त्यसमा शवको अभिलेख तथा तस्बिर तयार गर्ने, पोस्टमार्टम गर्ने, मृत्युको कारण प्रमाणित गर्ने, औपचारिक पहिचान कायम गर्ने तथा औँठाछाप, डीएनए र अन्य फरेन्सिक नमुना संकलन गर्ने प्रक्रिया समावेश छन्।
त्यस्तै, मृतकको राहदानी वा परिचयपत्र प्रमाणीकरण, सम्बन्धित दूतावाससँग समन्वय र आवश्यक कागजात तयार भएपछि शव हस्तान्तरण गर्ने व्यवस्था रहेको जनाइएको छ।बाढीपछि ठूलो संख्यामा शव फेला परेकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि केही शव अस्थायी रूपमा गाडिएको दूतावासले जनाएको छ। त्यस्ता शवको पहिचान गर्न मृतकका नजिकका आफन्तसँग डीएनए मिलान गर्नुपर्ने हुन्छ।परिवारले उपलब्ध गराउन सक्ने डीएनए प्रोफाइल वा रगतको नमुनाका आधारमा पहिचान प्रक्रिया अघि बढाउन सकिनेछ। पहिचान हुन नसकेका तथा अस्थायी रूपमा गाडिएका शवबाट नेपाली अधिकारीहरूले डीएनए नमुना संकलन गरी प्रोफाइल तयार गरिरहेको दूतावासले जनाएको छ।
डीएनए परीक्षणका लागि मृतकका प्रथम तहका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन वा सम्बन्धित नेपाली अधिकारीले माग गरेका विवरणसहित रगतको नमुना उपलब्ध गराउन सक्नेछन्। आवश्यक परे दूतावासमार्फत समेत समन्वय गर्न सकिने जनाइएको छ।डीएनए प्रोफाइलिङसम्बन्धी थप जानकारी नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध रहेको दूतावासले जनाएको छ। यससम्बन्धी थप जानकारी लिन नेपाल प्रहरीको हेल्पलाइन नम्बर ९७७ ९८४१ ६१६० ९५ मा सम्पर्क गर्न सकिनेछ।यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अगस्ट २६ मा रसुवामा आएको बाढी तथा त्यसपछि विभिन्न क्षेत्रमा देखिएको विपद्बाट हालसम्म ९ सय ३९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन् भने हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको जनाइएको छ।प्राधिकरणका अनुसार हालसम्म ३ हजार ९ सय २५ जना बेपत्ता छन्, जसमा ५ सय ९२ जना विदेशी नागरिक रहेको बताइएको छ। विपद् प्रभावित क्षेत्रबाट ११ हजार ३ सय ७९ जनाको उद्धार गरिएको छ।भारतीय विदेश मन्त्रालयका अनुसार नेपालमा विपद्का कारण प्रभावित भएका १ सय ५८ जना भारतीय नागरिकको हालसम्म सुरक्षित उद्धार गरिएको छ।