काठमाडौं । नेपाल–चीन सीमा नजिक भोटेकोशी नदीमा बाढीपछि बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गर्न दुई वटा सीसी क्यामेरा जडान गर्ने काम सुरु गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार ताल कुनै पनि बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको समयमै जानकारी लिन क्यामेरा राख्न लागिएको हो।क्यामेरा जडान भएपछि नदीको बहाव, तालको अवस्था तथा सम्भावित जोखिममा देखिन सक्ने परिवर्तनलाई दृश्य माध्यमबाट निगरानी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीविद् सौहार्द जोशीले यसबाट जोखिमको अवस्था पहिचान गर्न र आवश्यक सूचना प्रवाह गर्न सहयोग पुग्ने बताए।भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जोखिममा रहेका बस्तीलाई सम्भावित खतराबारे पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले निगरानी प्रणाली स्थापना गर्न लागिएको हो।सम्बन्धित निकायले क्यामेराबाट प्राप्त दृश्य तथा नदीको अवस्थालाई नियमित रूपमा अध्ययन गरी जोखिम बढेको अवस्थामा सम्बन्धित क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने जनाएको छ।