काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहसम्म पुग्ने प्रयास नेपाली सेनाको उद्धार टोलीले तत्काल पूरा गर्न सकेन।
सुरुङको केही भाग पार गरेपछि विद्युत् गृहभन्दा करिब ७ मिटर अगाडि सुरुङ पूर्ण रूपमा अवरुद्ध भेटिएपछि टोली थप उपकरणको अभावमा अघि बढ्न नसकेको हो।१ सय ११ मेगावाट क्षमताको आयोजनामा बाढीपछि सुरुङभित्र रहेका कर्मचारीको अवस्थाबारे चिन्ता बढिरहेका बेला उद्धार टोलीले अवरोध हटाएर भित्र पस्ने प्रयास गरेको थियो। तर सुरुङ बन्द रहेको स्थानमा ड्रिलिङ तथा अन्य आवश्यक उपकरणबिना अगाडि बढ्न सम्भव नभएपछि टोली फर्किएको जनाइएको छ।रसुवागढी हाइड्रोपावर कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सुरुङको खुला भागसम्म सेनाको टोली पुगेको थियो। केही साँघुरा तथा कठिन स्थान पार गर्दै टोली अगाडि बढे पनि त्यसपछि सुरुङको बाटो नै बन्द भएको पाइएको थियो।कम्पनीका अनुसार भूमिगत विद्युत् गृहमा नियमित रूपमा ३ देखि ५ जना कर्मचारी रहने गर्छन्। कार्यालय, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा समेत गरी त्यहाँ १४ देखि १६ जनासम्म कर्मचारी रहेको हुनसक्ने अनुमान गरिएको छ। बाढीका कारण बाहिर रहेका संरचना तथा मानिसहरू समेत प्रभावित भएकाले सुरुङभित्र रहेका कर्मचारीको वास्तविक अवस्थाबारे अझै यकिन हुन सकेको छैन।
कम्पनीले सुरुङ अवरोध हटाउन आवश्यक उपकरणसहित उद्धार कार्यलाई तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ। सुरुङ खन्दै अवरोध हटाउने, माटो तथा भग्नावशेष सफा गर्ने र विद्युत् गृहसम्म पुग्ने कामलाई उच्च प्राथमिकतामा राख्नुपर्ने कम्पनीको भनाइ छ।सुरुङ पूर्ण रूपमा बन्द रहेको जानकारी आएपछि भित्र रहेका कर्मचारी सकुशल रहेको सम्भावनाबारे पनि अन्योल बढेको छ। कम्पनीका अधिकारीहरूले अहिलेसम्म कर्मचारी जीवित रहेको आशा कायम राखे पनि सुरुङको अवस्थाका कारण उनीहरूको यकिन स्थिति थाहा पाउन कठिन भएको बताएका छन्।कर्मचारीका आफन्तहरूले समेत सरकारले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर सुरुङभित्रको अवस्था पत्ता लगाउनुपर्ने माग गरिरहेका छन्। कर्मचारी सकुशल नभएको अवस्था भए पनि कम्तीमा उनीहरूको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने उनीहरूको आग्रह छ।यसअघि प्रधानमन्त्रीको सचिवालयले पनि आयोजनाको सुरुङभित्र खोजी गर्दा कर्मचारी फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा परिचालित उद्धार टोली फर्किएको जानकारी दिएको थियो। अब आवश्यक उपकरणको व्यवस्थापन गरी सुरुङ अवरोध हटाएर पुनः खोज तथा उद्धार अघि बढाउनुपर्ने देखिएको छ।