काठमाडौं । बाढी तथा विपद्का घटनाबाट प्रभावित नागरिकको पहिचान र उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालले विभिन्न मुलुकसँग प्राविधिक तथा उपकरण सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रभावितको पहिचान तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम भइरहेको जानकारी दिए।नेपालले अमेरिकासँग डीएनए परीक्षणका लागि आवश्यक सहयोग मागेको छ भने चीन र सिंगापुरसँग उच्च क्षमताका उपकरण उपलब्ध गराउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ। जापान र दक्षिण कोरियाबाट पनि आवश्यक विशेष सामग्री छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ।प्रवक्ता क्षेत्रीका अनुसार भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगायत विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार र राहत सामग्री प्राप्त भइसकेका छन्। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफमार्फत थप सहयोग तथा सामग्री आउने क्रम जारी रहेको उनले बताए।प्राप्त सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न तथा औषधि लगायतका सामग्री रहेका छन्।बाढी प्रभावित क्षेत्रमा भारतको विशेष उद्धार टोली परिचालन भइसकेको छ भने दक्षिण कोरियाको टोली पनि उद्धार तथा खोज कार्यमा खटिएको मन्त्रालयले जनाएको छ।