काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ।
केन्द्रले सोमबार राष्ट्रिय बैंकमा रहेको राहत कोषको खातामा उक्त रकम हस्तान्तरण गरेको जनाएको छ। विपद्को समयमा पीडित नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको केन्द्रले जनाएको हो।राहतका लागि केन्द्रका ३९ जना सक्रिय सदस्यबाट स्वेच्छिक रूपमा ७२ हजार ७ सय २१ रुपैयाँ संकलन गरिएको थियो। त्यसमा संस्थाको तर्फबाट थप ३८ हजार ३ सय ९० रुपैयाँ जोडेर कुल सहयोग रकम तयार पारिएको केन्द्रले जनाएको छ।केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले विपत्तिको समयमा राज्यसँगै नागरिक तथा सामाजिक संस्थाहरूले पनि सहयोग र सहकार्य गर्नुपर्ने बताए। उनका अनुसार संस्थाले आगामी दिनमा राहत वितरणसँगै पुनर्निर्माण र प्रभावित समुदायलाई आवश्यक मनोसामाजिक सहयोगका क्षेत्रमा समेत योगदान गर्ने योजना बनाएको छ।केन्द्रका महासचिव दुष्यन्त भट्टराईले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको बताए। आगामी दिनमा आवश्यकताअनुसार थप सहयोगका क्षेत्र पहिचान गरी काम गर्ने विषयमा संस्थाभित्र छलफल भइरहेको उनको भनाइ छ।वि।सं। २०७७ मा स्थापना भएको मार्क्सवादी ज्ञान केन्द्र अध्ययन, अनुसन्धान तथा पठन संस्कृतिको विकासमा केन्द्रित सामाजिक संस्था हो। संस्थाले दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास, विज्ञान–प्रविधि तथा वैज्ञानिक समाजवादलगायत विषयमा अध्ययन र प्रशिक्षणका गतिविधि सञ्चालन गर्दै आएको छ।