काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ।
कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बाढीमा परी मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार शनिबार बसेको बैठकले राहत रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका दुई जना नागरिकको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा कोहलपुर–११ का कबिलाल थारु र महेश थारु रहेका छन्।कबिलालको शव चितवनमा फेला परेको थियो। शव शनिबार कोहलपुर ल्याएर अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। महेशको शवसमेत कोहलपुर ल्याइएको जनाइएको छ।बाढीपछि कोहलपुरका ११ जना नागरिक अझै सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूका परिवारले नगरपालिकामा उपलब्ध गराएको विवरणका आधारमा खोजी भइरहेको नगर प्रहरी प्रमुख थापाले बताएका छन्।
सम्पर्कविहीन नागरिकको खोजीका लागि नगरपालिकाले जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्य सम्मिलित टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ। टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्नेछ।खोजी टोलीको नेतृत्व कोहलपुर–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले गर्नेछन्। टोलीमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारुसहित नगर प्रहरी तथा बेपत्ता व्यक्तिका परिवारका सदस्य सहभागी हुनेछन्।कार्यपालिका बैठकले विपद्का कारण प्रभावित नागरिकको खोजी तथा उद्धार, राहत वितरण र मृतकको शव व्यवस्थापनलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।नगरपालिकाले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै बाढीबाट उत्पन्न समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।बैठकले बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउन कोहलपुरका जनप्रतिनिधि र कर्मचारीले समेत आर्थिक योगदान गर्ने भएका छन्।नगरप्रमुख आचार्यका अनुसार जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।नगरपालिकाले उक्त सहयोगले बाढी प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। मृतकका परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ताको खोजी गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्ने कामलाई नगरपालिकाले निरन्तरता दिने जनाएको छ।