काठमाडौं । नेपाल–चीन सीमाक्षेत्र आसपास अनधिकृत रूपमा निजी ड्रोन उडाउने क्रम बढेपछि उद्धार तथा राहतमा प्रयोग भइरहेका हेलिकप्टरको उडान प्रभावित भएको छ।
ड्रोनका कारण हवाई सुरक्षामा जोखिम बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सम्बन्धित क्षेत्रमा उडान गर्ने पाइलटहरूलाई विशेष सतर्कता अपनाउन ‘नोटाम’ जारी गरेको छ।सरकारी अनुमति नलिई ड्रोन सञ्चालन गर्दा यसअघि पनि उद्धार तथा राहत कार्यमा खटिएका हेलिकप्टरको उडानमा समस्या आएको थियो। पछिल्लो समय पुनः त्यस्तै गतिविधि देखिएपछि सीमावर्ती क्षेत्रमा हेलिकप्टर सञ्चालन थप चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले केरुङ सीमा क्षेत्रबाट करिब १० किलोमिटर दक्षिणतर्फको भूभागमा हेलिकप्टर उडान गर्दा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि हेलिकप्टरको नियमित उडान आवश्यक भइरहेका बेला ड्रोनको अनियन्त्रित गतिविधिले उद्धार अभियानमा थप जोखिम सिर्जना गरेको छ।