काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालका नागरिकलाई सहयोग पुर्याउन चीनले आपत्कालीन राहत सामग्री पठाएको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमान आइतबार बिहान राहत सामग्री बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै सुरुङ उद्धारमा दक्ष चार जना चिनियाँ विशेषज्ञ पनि आवश्यक उपकरणसहित नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा आवश्यक प्राविधिक सहयोग गर्नेछन्।विमानस्थलमा आयोजित कार्यक्रममा चिनियाँ पक्षले नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण गरेको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सोही अवसरमा नेपाल आएका उद्धार विशेषज्ञहरूको स्वागतसमेत गरिएको थियो।चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको यात्रापछि काठमाडौं आइपुगेका हुन्। दुवै विमानमा गरी करिब ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन सामग्री रहेको जनाइएको छ।राहत सामग्रीमा विपद्का बेला आवश्यक पर्ने त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचारका सामग्री समावेश छन्।नेपाल–चीन सीमा क्षेत्रसहित मुलुकका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट ठूलो क्षति भएपछि प्रभावितको उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले चीनले सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।