काठमाडौँ ।धादिङको कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
त्रिशूली नदीको कटानका कारण सडकको भाग कमजोर बनेपछि पहिरो गएको बताइएको छ।पहिरोका कारण राजमार्गको दुवैतर्फ यातायात सञ्चालन हुन नसकेपछि काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीलाई काठमाडौँ प्रवेश गर्न समस्या भएको छ।नयाँबसपार्क व्यवस्थापनका अनुसार राजमार्ग अवरुद्ध भएपछि उक्त मार्गबाट आउने सवारीसाधनलाई नयाँबसपार्कमै रोकिएको छ।यसैबीच, निरन्तरको वर्षासँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक तथा राजमार्गमा यातायात प्रभावित भइरहेको छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझ्न र पहिरो तथा कटानको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।