काठमाडौं । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदी आसपास बनेको ठूलो ताल फुटेपछि त्यहाँको अवस्थाबारे चिनियाँ पक्षले नेपाली अधिकारीलाई नियमित जानकारी गराइरहेको छ।
सरकारी स्रोतका अनुसार ताल फुटेपछि पानीको बहाव बढिरहेको भए पनि तत्काल ठूलो मात्रामा पानी एकैपटक बाहिरिने अर्थात् आउटबर्स्ट फ्लडको सम्भावना कम रहेको चिनियाँ पक्षको प्रारम्भिक आकलन छ।चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई पठाएको पछिल्लो जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिरिइरहेको छ। पानीको मात्रा बढेसँगै तालको फैलावटसमेत बढिरहेको जनाइएको छ। तर हालको अवस्थालाई हेर्दा अचानक ठूलो बाढी आउने जोखिम न्यून रहेको बताइएको छ।यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ र चट्टान खस्ने घटना देखिएको थियो। त्यसपछि चिनियाँ पक्षले सम्भावित जोखिमलाई ध्यानमा राख्दै घटनास्थलको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।चिनियाँ पक्षले अवस्थाबारे थप नयाँ जानकारी प्राप्त भएमा नेपाली अधिकारीलाई तत्काल जानकारी गराउने प्रतिबद्धता जनाएको छ।यस घटनाक्रमका कारण भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिक र उद्धारमा खटिएका टोलीलाई भने नदीको बहावमा हुन सक्ने परिवर्तनप्रति सचेत रहन आवश्यक देखिएको छ