काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्न थालेपछि बाढीको सम्भावित जोखिमलाई लिएर सतर्कता बढाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपास रहेका सर्वसाधारण तथा उद्धार र राहतमा संलग्न टोलीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।प्राधिकरणका अनुसार यसअघि १० भदौमा ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव केही बढेको जानकारी प्राप्त भएको छ। बहावमा देखिएको यो परिवर्तनका कारण फेरि बाढी आउन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा खटिएका उद्धारकर्मी, राहतकर्मी तथा अन्य व्यक्तिलाई सतर्क रहन भनिएको छ। नदीको अवस्था असामान्य देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ।प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामा नदीको बहावमा हुने कुनै पनि परिवर्तनलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ।प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न, नदीको नजिक नजान तथा परिस्थितिअनुसार सुरक्षा निकाय र स्थानीय प्रशासनको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ।