काठमाडौं । तिब्बततर्फ रहेको ड्याम भत्किएपछि भोटेकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
पानीको बहाव तीव्र हुन थालेपछि नुवाकोटको विदुर र त्रिशूली बजार आसपास उद्धार तथा राहतका लागि परिचालन गरिएका डोजर, उपकरण र जनशक्तिलाई जोखिमयुक्त क्षेत्रबाट हटाएर सुरक्षित स्थानमा सारिएको छ।रसुवामा परिचालित सुरक्षाकर्मीले सीमा क्षेत्रदेखि नदी किनारसम्मको आवागमनमा समेत कडाइ गरेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका सडक तथा संवेदनशील क्षेत्रमा मानिसको आवतजावत रोकिएको जनाइएको छ।भोटेकोशीमा पानीको सतह निरन्तर बढिरहेको भन्दै तल्लो तटीय क्षेत्रमा रहेका सर्वसाधारण र उद्धारमा संलग्न टोलीलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।अचानक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनारमा अनावश्यक रूपमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।