काठमाडौं । नेपाल–चीन सीमापारि तिब्बत क्षेत्रमा पहिरोका कारण बनेको कृत्रिम बाँध (ड्याम) पुनः भत्किएपछि नेपालतर्फका नदी किनारमा बाढीको जोखिम बढेको छ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा रहेको ड्याम भत्किएपछि ठूलो मात्रामा पानी तल्लो भूभागतर्फ बग्न थालेको जानकारी आएपछि नेपाली सुरक्षा निकायले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता बढाएका छन्।नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी आसपास बसोबास गर्ने तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।रसुवामा विपद् व्यवस्थापन तथा समन्वयका लागि खटिएका प्रहरी अधिकारीका अनुसार ड्याम फुटेको सूचना प्राप्त भएसँगै उद्धार तथा राहतमा संलग्न सुरक्षाकर्मी र अन्य टोलीलाई समेत जोखिमयुक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।यसअघि बुधबार आएको ठूलो पहिरोपछि नदी थुनिँदा उक्त स्थानमा कृत्रिम ताल बनेको थियो। पानीको सतह बढेर ओभरफ्लो भइरहेका बेला पुनः बाँध भत्किएपछि भोटेकोशी र त्रिशूली नदीमा एक्कासि पानीको बहाव बढ्न सक्ने आशंका गरिएको छ।सम्भावित बाढीबाट मानवीय तथा भौतिक क्षति हुन नदिन नदी किनारका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न सुरक्षा निकायले आग्रह गरेको छ।