काठमाडौं । भोटेकोशीमा आएको बाढीका क्रममा घाइते भएर उद्धार गरिएका ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, काठमाडौंका अनुसार रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रबाट कुल ८८ जना घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।उद्धार गरी ल्याइएकामध्ये २९ जना उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५९ जनाको भने विभिन्न अस्पतालमा उपचार जारी रहेको केन्द्रले जनाएको छ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा तीन जना घाइते उपचाररत छन्। उक्त अस्पतालमा भर्ना गरिएका १४ जनामध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन्।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ।वीर अस्पतालमा भर्ना गरिएका ६ जनामध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल एक जनाको उपचार भइरहेको छ।यस्तै, मनमोहन अस्पतालमा दुई जना, ग्रीनसिटी अस्पतालमा एक जना र नर्भिक अस्पतालमा दुई जना घाइते उपचाररत छन्। मनमैजुस्थित शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा पनि एकरएक जना घाइतेको उपचार भइरहेको केन्द्रले जनाएको छ।