काठमाडौं । नेपाल–चीन सीमासँग जोडिएको तिब्बत क्षेत्रमा पहिरोका कारण बनेको कृत्रिम तालमा पानीको सतह बढ्दै गएपछि त्यसले तल्लो क्षेत्रमा जोखिम निम्त्याउने चिन्ता बढेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्य तत्कालका लागि रोक्न निर्देशन दिएका छन्।गत बुधबार आएको ठूलो पहिरोसँगै बगेको लेदो र बाढीले जिरोङ केरुङ नाका आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको थियो। पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको तालमा पछिल्ला दिनमा निरन्तर वर्षाका कारण पानीको मात्रा थपिँदै गएको बताइएको छ।तालको पानी कुनै पनि बेला बाहिर निस्कन सक्ने सम्भावना रहेकाले उद्धारमा खटिएका टोलीलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। ताल फुटेमा त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा थप गम्भीर हुनसक्ने आशंका गरिएको छ।बीबीसीले सार्वजनिक गरेको विवरणअनुसार तिब्बततर्फको विपत्तिपछि ५ सय ५० भन्दा बढी मानिसको अवस्था अझै अज्ञात रहेको छ। बेपत्तामध्ये करिब २ सय ६० जना विदेशी नागरिक रहेको बताइएको छ। उनीहरूमध्ये कैलाश मानसरोवर यात्रामा रहेका तीर्थयात्रीहरूको संख्या उल्लेख्य रहेको जनाइएको छ।अहिले चिनियाँ अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो भूभागमा रहेको तालको पानीको सतह र आसपासको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्। वर्षा नरोकिए जोखिम अझै बढ्न सक्ने भएकाले सो क्षेत्रमा आवतजावतमा समेत कडाइ गरिएको छ।सम्भावित दुर्घटना र थप मानवीय तथा भौतिक क्षति रोक्न सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।