काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले हिमाली क्षेत्रमा बढिरहेको प्राकृतिक विपद्को जोखिम सामना गर्न नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘एनडीटीभी अन्विक्षा आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा बोल्दै लामिछानेले पछिल्लो बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै कार्यक्रमको निर्धारित विषयमा प्रवेश गर्नुअघि मृतकहरूप्रति सम्मान प्रकट गर्न आग्रह गरेका थिए। उनले सहभागीहरूलाई एक मिनेट मौनधारण गर्नसमेत अनुरोध गरे।लामिछानेका अनुसार भोटेकोशी र त्रिशूली नदी आसपासको क्षेत्रमा आएको बाढीले मानव बस्तीका साथै जलविद्युत् आयोजना, सडक, पुललगायतका संरचनामा क्षति पुर्याएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण संकलन भइनसकेकाले यकिन तथ्यांक सार्वजनिक गर्ने अवस्था नरहेको उनले बताए।विपद्पछि सरकारका विभिन्न निकाय उद्धार तथा राहतमा परिचालित भएको जानकारी दिँदै सुरक्षा निकायले खोज तथा उद्धार गरिरहेको र प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउने काम भइरहेको बताए।
विपद्को समयमा जोखिममा परेका नागरिकलाई सहयोग गर्न सुरक्षाकर्मी र स्थानीय समुदायले देखाएको सक्रियताको लामिछानेले प्रशंसा गरे। बाह्य सहायता पुग्नुअघि स्थानीय बासिन्दा नै पहिलो उद्धारकर्ता बन्ने गरेको उनको भनाइ थियो।त्यस्तै, संकटको समयमा नेपालप्रति सहयोग र ऐक्यबद्धता जनाउने छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई उनले धन्यवाद दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा समेत लामिछानेले आभार व्यक्त गरे।जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका चुनौतीलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।