काठमाडौं । भोटेकोशी नदीमा पुनः आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त जानकारी तथा भू–उपग्रहबाट लिइएका तस्बिरको प्रारम्भिक अध्ययनबाट बाढी आएको क्षेत्रमा नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको देखिएको महाशाखाले जनाएको छ।जम्मा भएको पानीको मात्रा बढ्दै गएको र प्राकृतिक रूपमा बनेको ताल फुट्ने सम्भावना रहेकाले जोखिम बढेको बताइएको छ। उक्त ताल फुटेमा भोटेकोशी नदीको तल्लो भागमा एक्कासि ठूलो बाढी आउन सक्ने अनुमान गरिएको छ।
जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र जोखिमयुक्त स्थानबाट टाढा सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ।महाशाखाले नदी आसपास अनावश्यक रूपमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा सूचनालाई अनिवार्य रूपमा पालना गर्नसमेत अनुरोध गरेको छ। सम्भावित विपद् न्यूनीकरणका लागि सबैले उच्च सतर्कता अपनाउनुपर्नेमा महाशाखाले जोड दिएको छ।