काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
बिहीबार बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्ती तथा क्षेत्रमा पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन्। निरीक्षणपछि उनी टोलीसहित काठमाडौं फर्किएका छन्।भोटेकोशी नदीमा आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि प्रधानमन्त्री शाहले उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्राथमिकता दिँदै आएका छन्। उनले बाढीपछि विभिन्न निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा आवश्यक निर्देशन दिने काम गरिरहेका छन्।नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको थियो। साथै बाढीबाट भएको भौतिक क्षति, उद्धार तथा राहतको अवस्थाबारे छलफल गरिएको थियो।प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा अवरुद्ध सडक र अन्य अत्यावश्यक पूर्वाधारलाई छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। दीर्घकालीन पुनःस्थापनाका कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउन उनले जोड दिएका छन्।स्थलगत निरीक्षण र सम्बन्धित निकायसँग छलफलपछि प्रधानमन्त्री शाहसहितको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।