काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि काम तथा रोजगारीका लागि त्यहाँ पुगेका सिन्धुलीका ३६ जना नागरिकसँग सम्पर्क हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विभिन्न स्थानीय तहका बासिन्दा बाढीपछि सम्पर्कविहीन भएको जनाएको छ।प्रशासनका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश रसुवामा जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायलगायत क्षेत्रमा काम गर्दै आएका थिए। बाढी आएपछि उनीहरूका परिवार तथा आफन्तसँग सम्पर्क टुटेको हो।सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दा रहेको प्रशासनले जनाएको छ।उनीहरूको अवस्था पत्ता लगाउन सिन्धुली प्रशासनले रसुवास्थित स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरिरहेको छ। आफन्तबाट जानकारी प्राप्त भएपछि सम्पर्कविहीन नागरिकको विवरण संकलन गरी खोजी तथा उद्धारका लागि सम्बन्धित निकायमा पठाइएको जनाइएको छ।बाढीका कारण प्रभावित क्षेत्रमा टेलिफोन तथा अन्य सञ्चार सेवा अवरुद्ध रहेकाले कतिपय नागरिक तत्काल सम्पर्कमा आउन नसकेको हुनसक्ने प्रशासनको अनुमान छ। त्यसैले सम्पर्क नभएको आधारमै उनीहरूको अवस्था यकिन गर्न नसकिने बताइएको छ।प्रशासनले सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तलाई संयमित रहन आग्रह गर्दै कुनै नयाँ सूचना प्राप्त भए तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।खोज तथा उद्धार अभियान जारी रहेकाले सम्पर्कविहीन नागरिकबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।