काठमाडौं । बाढीबाट प्रभावित बागमती प्रदेशका विभिन्न क्षेत्रमा प्रदेश सरकारको टोली परिचालन भएको छ।
मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा मन्त्री तथा कर्मचारीसहितको टोलीले धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको जानकारी लिइरहेको छ।रसुवामा आएको भीषण बाढीका कारण ठूलो क्षति भएपछि प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र तत्काल राहत उपलब्ध गराउने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको मुख्यमन्त्री थापामगरले बताएका छन्।उनका अनुसार जोखिममा रहेका नागरिकलाई स्थानीय विद्यालय, पार्टी प्यालेस, सभा–हललगायत सुरक्षित स्थानमा राखिएको छ। त्यहाँ रहेका प्रभावित परिवारका लागि खाद्यान्न, बसोबास तथा अन्य आवश्यक सुविधाको व्यवस्था मिलाउने काम भइरहेको छ।मुख्यमन्त्री थापामगरले विपद्को अवस्थामा प्रदेश सरकारका सम्बन्धित संयन्त्रलाई परिचालन गरेर प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिएका छन्।
मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्री सरलसहयात्री, सामाजिक विकास मन्त्री गिरबहादुर तामाङलगायत प्रदेश सरकारका अधिकारीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्।निरीक्षणका क्रममा टोलीले बाढीबाट भएको क्षतिको अवस्था बुझ्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग समन्वय गरिरहेको छ। उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन परिचालनबारे समेत छलफल भइरहेको जनाइएको छ।प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउने तथा उद्धार कार्यलाई सहज बनाउन थप जनशक्ति र स्रोत परिचालन गर्ने तयारी गरेको जनाएको छ।