काठमाडौं । तिब्बत क्षेत्रबाट आएको हिमपहिरोपछि भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ।
बाढीमा परी २८ देशका ४ सय ७६ जना अझै सम्पर्कविहीन रहेको नेपाली दूतावास स्रोतलाई उद्धृत गर्दै विवरण सार्वजनिक गरिएको छ।सरकारका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेकाले मृतक र बेपत्ताको संख्या थपघट हुन सक्ने अवस्था छ। अहिले सरकारको मुख्य ध्यान बेपत्ताको खोजी, प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित छ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा थप शव फेला पर्ने क्रम जारी छ। भेटिएका शवको पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।प्रारम्भिक विवरणअनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांकअनुसार ४ सय ६६ विदेशी र १ सय १३ नेपालीसहित ५ सय ७९ यात्रुको अवस्था अज्ञात रहेको जनाइएको छ। तीमध्ये रसुवाको टिमुरेबाट ९४ नेपाली र २९ विदेशी गरी १सय २३ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ।प्रारम्भिक अध्ययनअनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ रहेको ल्हेन्दे खोलामा हिमनदी वा बरफको ठूलो चट्टान खसेपछि माटो र ढुंगासहितको भीषण बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।बाढी भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी क्षेत्र पार गरेर त्रिशूली नदीमा मिसिएको थियो। त्यसपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको बताइएको छ।
सरकारी प्रारम्भिक विवरणअनुसार अहिलेसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर कालोपत्रे सडकमा क्षति पुगेको छ। जलविद्युत् आयोजना, निजी घर तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले स्थलगत रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन सरकारी तथा निजी हेलिकोप्टरसमेत प्रयोग गरिएको छ।घाइतेको उपचारका लागि जिल्ला तहदेखि काठमाडौंसम्मका अस्पतालमा चिकित्सकीय टोली परिचालन गरिएको छ। प्रभावित नागरिकका लागि अस्थायी बसोबास, खाद्यान्न, खानेपानी र औषधिको व्यवस्थासमेत विभिन्न सुरक्षित स्थानमा मिलाइएको जनाइएको छ।
विपद्पछि भारतले नेपाललाई मानवीय सहयोग उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारीलाई १० टन राहत सामग्री हस्तान्तरण गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गर्दै विपद्प्रति दुःख व्यक्त गर्नुका साथै आवश्यक मानवीय सहयोगका लागि भारत तयार रहेको बताएका छन्।भारतीय विदेशमन्त्री एस जयशंकरले पनि नेपालमा मानवीय सहायता तथा चिकित्सकीय सामग्री पठाइएको र दुवै देशका सम्बन्धित निकायबीच समन्वय भइरहेको जानकारी दिएका छन्।बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाका कामलाई थप तीव्र बनाउने सरकारी तयारी छ।