काठमाडौं । रसुवा र नुवाकोटमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ एनआरएनए ले करिब ५ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ।
तत्काल राहत आवश्यक रहेका प्रभावित क्षेत्रमा सहयोग पुर्याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै घटनास्थलतर्फ परिचालन भएको जनाएको छ। टोलीले प्रभावित क्षेत्रको अवस्था बुझेर आवश्यकताका आधारमा राहत तथा उद्धारका कार्यक्रम अघि बढाउनेछ।भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेपछि एनआरएनएले आपत्कालीन सहयोग अभियान सुरु गरेको हो। अभियानअन्तर्गत खाद्यान्न, औषधि, स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक सामग्री वितरण गर्ने तयारी गरिएको छ।एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई पनि सक्रिय हुन आग्रह गरेका छन्।
राहत समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरेपछि राहतको प्राथमिकता तय गरिने बताए। उनका अनुसार स्थानीय आवश्यकतालाई आधार बनाएर थप सहयोग परिचालन गरिनेछ।त्यस्तै, विपद् व्यवस्थापन समितिका उपसंयोजक एवं एनआरएनए उपाध्यक्ष प्रविन गुरुङ प्रभावित क्षेत्रमा पुगिसकेको र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा सहभागी हुने जानकारी दिएका छन्।एनआरएनएले राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रशासन र सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने जनाएको छ। तत्कालीन राहतसँगै बाढी तथा पहिरोबाट विस्थापित र प्रभावित परिवारको पुनःस्थापनालाई समेत अभियानको प्राथमिकतामा राखिएको छ।
संघका संस्थापक अध्यक्ष एवं मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन चिकित्सकसहितको विशेष टोली परिचालन गरिने बताएका छन्। टोलीले प्राथमिक उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श दिनेछ।एनआरएनएको टोली राहत तथा उद्धारका लागि बिहीबार प्रभावित क्षेत्रतर्फ जाने तयारी गरिएको संघकी सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिएकी छन्। टोलीमा संघका पदाधिकारीसँगै विभिन्न देशमा रहेका राष्ट्रिय समितिका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।नेपाल सरकारसँग आवश्यक समन्वय गर्न संघले पूर्वकार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ। उनले प्रधानमन्त्री कार्यालयसहित सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र संघबाट उपलब्ध हुने सहयोगबीच तालमेल मिलाउनेछन्।एनआरएनएले विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्ने जनाएको छ।