काठमाडौं । बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि रसुवालगायत प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ।
समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था अघि बढाएको छ।बाढीबाट रसुवा, नुवाकोट र धादिङका विद्युत् पूर्वाधारमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। क्षतिका कारण १२ वटा जलविद्युत् आयोजनाबाट करिब ४ सय ३१ .१ मेगावाट विद्युत् उत्पादन रोकिएको बताइएको छ।प्रभावित नागरिकलाई तत्काल वैकल्पिक ऊर्जाको सुविधा उपलब्ध गराउन मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा पाँच सय वटा सोलार पावर बैंक प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। ती सामग्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत प्रभावित क्षेत्रमा पुर्याइने जनाइएको छ।
मन्त्रालयका अनुसार त्रिशूलीस्थित २ सय २० केभीको ३ बी हब सबस्टेसनमा ठूलो क्षति पुगेको छ। त्यसैगरी विभिन्न स्थानका ६ वटा प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।विद्युत् उत्पादन र प्रसारणमा आएको अवरोधले राष्ट्रिय विद्युत् प्रणालीमा परेको प्रभावबारे ऊर्जा मन्त्रालयले निगरानी बढाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्ति व्यवस्थाको अवस्थाबारे जानकारी लिन आज स्युचारटारस्थित राष्ट्रिय विद्युत् प्रेषण केन्द्र लोड डिस्प्याच सेन्टर को निरीक्षण गर्ने कार्यक्रम रहेको छ।यता सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयास पनि भइरहेको मन्त्रालयले जनाएको छ। धादिङको गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति पुनःस्थापित गर्ने काम अघि बढाइएको छ।सम्भव भएका अन्य स्थानमा प्राविधिक टोली परिचालन गरी प्रसारण लाइनको अवस्था जाँच्ने, मर्मत गर्ने र विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।विद्युत् सेवा अवरुद्ध भए पनि राष्ट्रिय प्रणालीलाई सुरक्षित र स्थिर राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। आपत्कालीन अवस्थाका लागि भीमफेदीमा रहेको जेनेरेटरसमेत आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।