काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणका लागि आज नुवाकोटतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। उनीहरू बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ गएको बताइएको छ।बुधबार भोटेकोसी हुँदै आएको बाढीले नदी आसपासका विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा प्रभावित नागरिकको व्यवस्थापनमा सक्रिय हुँदै आएका छन्। बाढीपछि उनले सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धार तथा राहतलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिँदै आएका छन्।आजको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नुवाकोटको विदुर र आसपासका बाढी प्रभावित बस्तीमा पुगेर क्षतिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछन्। समयको सीमाका कारण उनको टोलीले मुख्य प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर निरीक्षण गर्ने जनाइएको छ।निरीक्षणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित नागरिकको उद्धार र राहत, पुनःस्थापना तथा अवरुद्ध सडक र अन्य पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ।बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई गति दिनुका साथै प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पुर्याउने विषयमा समेत आवश्यक निर्देशन दिइने बताइएको छ।