काठमाडौं । विपद्का समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने गलत सूचना र अफवाहप्रति सचेत रहन सरकारले नागरिकलाई आग्रह गरेको छ। विश्वसनीय स्रोतबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार बनाउन सरकारले अनुरोध गरेको हो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान अबदेखि प्रत्येक एक घण्टामा विपद्सम्बन्धी आधिकारिक विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।विपद्का घटनाबारे अपुष्ट तथा गलत सूचना फैलिँदा नागरिकमा अनावश्यक त्रास सिर्जना भएको गुनासो आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमए मार्फत नियमित रूपमा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरिएको उनले बताए।प्रत्येक घण्टा सार्वजनिक हुने विवरणमा राहत तथा उद्धारको अवस्था, परिचालन गरिएको जनशक्ति, आवश्यक सवारीसाधन तथा सामग्रीको उपलब्धता र तिनको वितरणलगायत पछिल्लो अवस्थाबारे जानकारी समेटिने जनाइएको छ।
सरकारले सञ्चारमाध्यमसँग पनि निरन्तर समन्वय गरिने जनाएको छ। पौडेलले आधिकारिक निकायबाट जारी भएका सूचनालाई प्राथमिकता दिन र अपुष्ट खबरका आधारमा भ्रममा नपर्न नागरिकलाई आग्रह गरेका छन्।उनले विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न सबै पक्षलाई आग्रह गरे। निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न सामाजिक समूहलाई उद्धार, राहत र विपद् व्यवस्थापनमा जिम्मेवार ढंगले सहयोग गर्न पनि उनले आह्वान गरेका छन्।सरकारका अनुसार अहिलेको मुख्य उद्देश्य प्रभावित नागरिकको ज्यान जोगाउनु र आवश्यक उद्धार तथा राहत प्रभावकारी बनाउनु हो। विपद्बाट भएको भौतिक क्षतिको विस्तृत मूल्यांकन भने अवस्था सामान्य भएपछि पोस्ट डिजास्टर निड्स एसेसमेन्ट पीडीएनए लगायतका प्रक्रियामार्फत गरिने बताइएको छ।सरकारले संकटको समयमा संयमित रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न र विपद् व्यवस्थापनमा सकारात्मक तथा सहयोगी भूमिका निर्वाह गर्न सबै नागरिकसँग अपिल गरेको छ।