काठमाडौं । हिजो भोटेकोसीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ।
यद्यपि नदी तथा आसपासका क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकालीसहित प्रमुख नदी तथा तिनका सहायक नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ।तर आगामी तीन दिन केही प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्म जलसतह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।त्यस्तै सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने सामान्य रूपमा जलसतह बढ्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ।त्यसैगरी स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका क्षेत्रमा समेत साना नदीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भएर बग्ने केही साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।बाढीको जोखिम भएका क्षेत्रमा अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान, स्थानीय सूचना तथा पूर्वानुमानलाई ध्यान दिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
