काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते भएका २५ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
उनीहरूको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्। त्यस्तै, रसुवाको गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पनि बाढीबाट प्रभावित तथा घाइते भएका विभिन्न जिल्लाका नागरिकको उपचार भइरहेको छ। उपचाररत व्यक्तिहरूमा नुवाकोटका तेजबहादुर तामाङ, रसुवाका पेम्वा तामाङ, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठसहित विभिन्न जिल्लाका नागरिक रहेका छन्।
शिक्षण अस्पतालमा उपचार भइरहेकामध्ये केहीको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गोरखा टिमुरे, गोसाइँकुण्ड–७ का कामु नगरकोटी पनि सोही अस्पतालमा उपचाररत छन्। उनीसँग तीन महिनाका नाबालक शिशुसमेत रहेको बताइएको छ। त्यस्तै प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा, रामप्रसाद थारु, सुराची राना मगर र रिता दोचालगायतको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढीपछि उद्धार कार्यलाई तीव्र पारिएको र हालसम्म १०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ।