काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा पुनःस्थापनामा ध्यान दिन सरकारसहित सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको हो। घटनामा नागरिक, सुरक्षाकर्मी, कर्मचारी तथा आन्तरिक र बाह्य पर्यटकसमेत प्रभावित भएको आयोगले जनाएको छ।बाढीका कारण धेरै मानिसको मृत्यु भएको, केही बेपत्ता र घाइते भएको तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको आयोगको भनाइ छ।आयोगले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन र उद्धारपछि पीडितको पुनःस्थापनामा समेत आवश्यक ध्यान दिन सरकारलाई आग्रह गरेको छ।त्यसैगरी राजनीतिक दल, सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकलाई आफ्नो क्षेत्रबाट उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गर्न आयोगले अपिल गरेको छ।आयोगले विपद्को समयमा प्रभावित नागरिकको जीवन, सुरक्षा र मानव अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नसमेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।