काठमाडौं । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा प्रदर्शन गर्दै सिरहा–४ का सांसद तथा रास्वपा मधेश प्रदेश सभापति तपेश्वर यादवको पुत्ला जलाएको छ।
मिटरब्याज पीडितहरूले मिर्चैयाको संस्था चोकबाट र्याली सुरु गरी थाना चोक हुँदै कटारी चोकसम्म प्रदर्शन गरेका थिए। विभिन्न स्थानको परिक्रमा गरेपछि उनीहरू पुनः संस्था चोकमा भेला भएका थिए। त्यहाँ उनीहरूले सांसद यादवको पुत्ला दहन गरेका हुन्।प्रदर्शनकारीले फर्जी तमसुक खारेज गर्नुपर्ने, प्रहरी तथा प्रशासनबाट हुने भनिएको अनियमितता रोक्नुपर्ने, सुदखोरमाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने मागसहित नाराबाजी गरेका थिए। उनीहरूले सांसद यादवविरुद्ध पनि नाराबाजी गरेका थिए।आन्दोलनका महासचिव मनोजकुमार पासवानले नेपालमा मिटरब्याज पीडितको समस्या समाधानका लागि लामो समयदेखि आन्दोलन हुँदै आए पनि धेरै पीडितले अझै न्याय पाउन नसकेको दाबी गरे। उनका अनुसार लेनदेनसम्बन्धी विवादका कारण धेरै नागरिक प्रभावित भएका छन् र कतिपयले सम्पत्तिसमेत गुमाएका छन्। मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनका अनुसार केही दिनअघि जनकपुरदेखि निजगढसम्म गरिएको पैदल मार्चपछि गृहमन्त्री सुदन गुरुङसँग नौबुँदे सहमति भएपछि तत्कालका लागि आन्दोलन रोकिएको थियो।
तर, सांसद यादवले मिटरब्याजीको पक्षमा अभिव्यक्ति दिएको आरोप लगाउँदै आन्दोलनकारीले आपत्ति जनाएका छन्। उनीहरूले सांसद यादवमाथि कारबाही गर्न र आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन्।आन्दोलनकारीले माग सम्बोधन नभए सांसद यादवको घर घेराउ गर्नेदेखि देशव्यापी आन्दोलन पुनः चर्काउने र सिंहदरबारसम्म पुग्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग यसअघि भएको सहमति कार्यान्वयन गरी मिटरब्याज पीडितलाई न्याय दिनसमेत माग गरेका छन्।