काठमाडौं ।रसुवामा बाढीबाट प्रभावितको उद्धार तथा राहतलाई तीव्र बनाउन सरकारले गृहमन्त्री सुधन गुरुङलाई आवश्यक सबै स्रोत–साधन परिचालन गर्ने जिम्मेवारी दिएको छ।
बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले उद्धार कार्यमा हेलिकप्टरसहित आवश्यक साधन तत्काल परिचालन गर्न सक्ने अधिकार गृहमन्त्रीलाई दिएको हो।परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीका कारण घाइते भएका तथा सुरक्षित स्थानको आवश्यकता परेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने निर्णय भएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गरिने भएको छ।मन्त्रिपरिषद्ले बाढीका कारण घर तथा आवास गुमाएका परिवारलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको खाने र बस्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।त्यसैगरी प्रभावित क्षेत्रमा खानेपानी, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना र उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।सरकारले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण र आधारभूत आवश्यकताको व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।