काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै भदौ २३ गते ‘सिध्याइदिने’ आशयको स्टाटस लेखेका थिए। उक्त पोस्टमा प्रहरीलाई समेत ट्याग गर्दै अपशब्द प्रयोग गरिएको बताइएको छ।पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको छ।प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग आबद्ध रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।