काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि विभिन्न आठ वटा बैंकका २६ जना कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघका अनुसार प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकमा कार्यरत कर्मचारीहरू सम्पर्कमा आउन सकेका छैनन्।बाढीका कारण भोटेकोसी नदी आसपासका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका केही बैंक शाखामा समेत क्षति पुगेको बताइएको छ। केही शाखा बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको संघले जनाएको छ।सम्पर्कविहीन कर्मचारीको अवस्था र बाढीबाट बैंकका शाखा तथा पूर्वाधारमा भएको क्षतिबारे थप विवरण संकलन भइरहेको बताइएको छ। संघले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको जनाएको छ।