काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको बाढीपछि ठूलो संख्यामा पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ३ सय ८४ जना पर्यटक तथा पदयात्रीको अवस्था अज्ञात रहेको छ। तीमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली रहेको बोर्डले जनाएको छ।बुधबार बिहान करिब साढे ८ बजे भोटेकोशी नदीमा एक्कासि आएको ठूलो बाढीले प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे जानकारी लिन कठिन भएको बताइएको छ।प्रारम्भिक विवरणअनुसार विभिन्न ट्रेकिङ तथा पर्यटन कम्पनीमार्फत रसुवा पुगेका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्। ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एन्ड ट्राभल्समार्फत गएका ७१ जनाको अवस्था अज्ञात रहेको छ। त्यस्तै, लिफ होलिडे, हिमालयन ग्लेसियरलगायतका एजेन्सीमार्फत गएका पर्यटक पनि सम्पर्कमा नरहेको जनाइएको छ।सम्पर्कविहीन विदेशी पर्यटकमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेको प्रारम्भिक विवरण छ। केही पर्यटकको राष्ट्रियता भने अझै खुल्न सकेको छैन।पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकको वास्तविक अवस्था पत्ता लगाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, पर्यटक प्रहरी र ट्रेकिङ गाइडहरूसँग समन्वय गरिरहेको जनाएको छ।बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क तथा यातायातमा समेत समस्या रहेकाले बेपत्ता पर्यटकको यकिन अवस्था पत्ता लगाउन कठिन भइरहेको छ। उद्धार टोलीले सम्भावित स्थानमा खोजीलाई तीव्र बनाउँदै तथ्यांकसमेत रुजु गरिरहेको छ।