काठमाडौं। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीका कारण जिल्लाका विभिन्न सरकारी तथा निजी संरचना प्रभावित भएका छन्।प्रारम्भिक विवरणअनुसार सरकारी कार्यालय, बैंक, बजार क्षेत्र, होटल, लज, विद्यालय तथा पुललगायतका संरचनामा बाढीले क्षति पुर्याएको छ। केही बस्तीमा समेत बाढी पसेपछि स्थानीयवासी प्रभावित भएका छन्।नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार जिल्लामा भएको क्षति अत्यन्त ठूलो रहेको छ। बाढीको प्रभाव धेरै क्षेत्रमा फैलिएकाले क्षतिको यकिन विवरण तत्काल संकलन गर्न कठिन भइरहेको उनले बताएका छन्।विदुर नगरपालिका–६ मा रहेको नयाँ कारागार भवनको तल्लो भागमा बाढी र लेदो पसेको छ। कारागार परिसरको घेराबारासमेत क्षतिग्रस्त भएको जनाइएको छ।त्यस्तै, करोडौँ रुपैयाँको लगानीमा निर्माण सम्पन्न गरी बाल सुधार गृह सञ्चालनको तयारीमा रहेको पुरानो कारागारको संरचनामा भने बाढीले ठूलो क्षति पुर्याएको छ। नदीको तीव्र बहावले उक्त संरचना नै बगाएको बताइएको छ।
बाढीका कारण केही व्यक्ति घाइते भएको र केही सम्पर्कविहीन रहेको जानकारी प्राप्त भए पनि मानवीय क्षतिबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।सञ्चार सम्पर्कमा समेत समस्या देखिएको छ। विभिन्न स्थानमा टेलिफोन टावर अवरुद्ध भएका छन् भने सुरक्षाकर्मीले प्रयोग गर्ने सञ्चार उपकरणमा समेत विद्युत् तथा ब्याट्रीसम्बन्धी समस्या देखिएपछि घटनास्थलबाट विवरण संकलनमा कठिनाइ भएको प्रशासनले जनाएको छ।बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। साथै क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रशासनले जनाएको छ।