काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले स्वास्थ्य तथा राहत सामग्री उपलब्ध गराउने भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार डब्ल्युएचओले करिब एक हजार जनाका लागि पुग्ने आधारभूत औषधि तथा आवश्यक स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। बाढीपछि उत्पन्न स्वास्थ्यसम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै संगठनले आपतकालीन सहयोग उपलब्ध गराउन लागेको हो।त्यसैगरी, प्रभावित क्षेत्रमा उपचार तथा अस्थायी स्वास्थ्य सेवा सञ्चालन गर्न २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्ट पनि पठाइने मन्त्रालयले जनाएको छ।बाढीबाट प्रभावित तथा घाइतेको उपचारका लागि काठमाडौंका वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १सय वटा आपतकालीन शय्या तयारी अवस्थामा राखिएको छ। मन्त्रालयका अनुसार उद्धार गरिएका तीन जना घाइतेलाई काठमाडौं ल्याएर उपचारको व्यवस्था मिलाइएको छ।
आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंमा रहेका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। साथै बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स तथा नेपाल स्काउटलगायतका संस्थासँग उद्धार र स्वास्थ्य सेवाका विषयमा सहकार्य भइरहेको छ।बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न नदिन आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापनलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।