काठमाडौं। देशका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएपछि प्रतिनिधिसभामा बुधबारका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहे पनि विपद्को पछिल्लो अवस्थालाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने भएका हुन्। उनी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार तथा राहत व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग छलफलमा व्यस्त रहेको बताइएको छ।संघीय संसद् सचिवालयका अनुसार विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राखेर तत्काल अन्य विषयमा छलफल गर्नुभन्दा उद्धार तथा राहतसम्बन्धी कामलाई प्राथमिकता दिने उद्देश्यले प्रश्नोत्तर कार्यक्रम रोकिएको हो।यद्यपि, प्रतिनिधिसभाको बैठक भने बस्नेछ। बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढीबाट भएको क्षति तथा सरकारले अघि बढाइरहेको खोज, उद्धार र राहतका प्रयासबारे सदनलाई जानकारी गराउने तयारी छ।बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आजको बैठकका अन्य केही सम्भावित कार्यसूचीसमेत हटाइएको जनाइएको छ। विपद्को अवस्थाबारे संसद्मा आवश्यक छलफल र जानकारी आदानप्रदानलाई प्राथमिकता दिइनेछ।