काठमाडौं। रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको ठूलो बाढीले भन्सार कार्यालयमा व्यापक क्षति पुर्याएको छ।
बाढीपछि रसुवा भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये १४ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।भन्सार विभागका अनुसार हालसम्म २६ जना कर्मचारीसँग सम्पर्क स्थापित भइसकेको छ। बाँकी कर्मचारीको अवस्थाबारे जानकारी लिन तथा उनीहरूसँग सम्पर्क कायम गर्न निरन्तर प्रयास भइरहेको विभागले जनाएको छ।भन्सार विभागका महानिर्देशक यमलाल भुसालले २६ जना कर्मचारीसँग सम्पर्क भइसकेको र अन्य कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।बुधबार बिहान करिब ८ बजेतिर चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे क्षेत्रमा भोटेकोशी नदी उर्लिएको बताइएको छ। बाढीको वेगले टिमुरे भन्सार कार्यालयका संरचनासमेत बगाएको विभागले जनाएको छ।बाढीका कारण भन्सार कार्यालय आसपासका क्षेत्रमा समेत ठूलो भौतिक क्षति भएको छ। घटनापछि सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास अघि बढाएका छन्।बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ।