काठमाडौं। रसुवाको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित सबै निकायलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएका छन्।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले रसुवामा भएको क्षतिबारे नेपाली सेनाबाट जानकारी लिएका थिए।बैठकपछि उनले प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै सबैलाई आ–आफ्नो स्थानबाट सहयोगमा जुट्न आग्रह गरेका छन्।तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति भएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएकाले धादिङ र चितवनसम्मका नदी किनारका क्षेत्रमा समेत जोखिम बढेको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका थप टोली परिचालन गरिएको छ। नेपाली सेनाका दुई हेलिकप्टर रसुवा पुगेर उद्धार तथा खोजी कार्यमा जुटेका छन्।त्यस्तै, त्रिशूलीस्थित जिल्ला अस्पतालमा आवश्यक सहयोग पुर्याउन नेपाली सेनाको आपत्कालीन मेडिकल रेस्क्यु टोली एमआई–१७ हेलिकप्टरसहित परिचालन गरिएको छ। धुन्चे र त्रिशूली ब्यारेकबाट समेत उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ।गजुरीस्थित नं। ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति परिचालन गरिएको छ भने प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।सशस्त्र प्रहरी बलले पनि नुवाकोट, ककनी, धादिङ, आदमघाट र चितवनबाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। उद्धार, खोजी र राहतलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले संयुक्त रूपमा काम गरिरहेका छन्।