काठमाडौं।रसुवातर्फबाट आएको बाढीको प्रभाव धादिङसम्म देखिएपछि प्रशासनले त्रिशूली नदी तथा आसपासका खोलानजिक रहेका बस्तीमा सतर्कता बढाएको छ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरिएको छ।बाढीको बहाव गल्छी क्षेत्रसम्म पुगेपछि मलेखु र गल्छी आसपासका तटीय बस्तीलाई खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको धादिङ प्रशासनले जनाएको छ। बाढीका कारण गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएर बगेको बताइएको छ।नदी तथा खोलाको पानीको सतह बढिरहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। स्थानीय तहसँग समन्वय गर्दै प्रशासनले सम्भावित मानवीय क्षति रोक्न उद्धार तथा व्यवस्थापनको तयारी अघि बढाएको छ।बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा चल्ने सवारीसाधनलाई समेत केही स्थानमा रोकिएको छ। जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन गर्दा दुर्घटना हुन सक्ने भएकाले सुरक्षित स्थानमा सवारी साधन व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित टोलीहरू प्रभावित क्षेत्रमै खटिएका छन्। प्रशासनको तत्कालीन प्राथमिकता नागरिकलाई सुरक्षित राख्नु र सम्भावित क्षति न्यूनीकरण गर्नु रहेको छ।