काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।प्रहरीका अनुसार मंगलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङमा राखिएको लु १ ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा विकलाई ठक्कर दिएका थिए।दुर्घटनामा विकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलबार राति नै बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो।अस्पतालमा उपचारकै क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।