काठमाडौं । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय बालक प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ।
घरमै सुतिरहेका बेला सर्पले डसेपछि उपचारका लागि विराटनगर लगिएका उनको सोमबार साँझ उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ।परिवारका अनुसार भदौ ३ गते राति करिब १० बजेतिर प्रियांसु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। प्रियांसुको कानमा र दिव्यांशुको खुट्टामा सर्पले डसेको बताइएको छ।घटनालगत्तै दुवै बालकलाई उपचारका लागि लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवैलाई विराटनगर रेफर गरिएको थियो।अस्पतालमा सर्पदंशविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम पर्याप्त नभएका कारण रेफर गरिएको परिवारको भनाइ छ। यद्यपि, अस्पतालले भने आवश्यक एन्टिस्नेक भेनम दिएर नै बिरामीलाई विराटनगर पठाइएको दाबी गरेको छ।
विराटनगरमा उपचार भइरहेका प्रियांसुको अवस्था थप गम्भीर बन्दै गएपछि सोमबार साँझ करिब ६ बजे उनको मृत्यु भएको उनका दाजु मुकेश भगतले जानकारी दिए।परिवारको आर्थिक अवस्था कमजोर रहेकाले प्रियांसु र उनका भाइको उपचारका लागि स्थानीयस्तरदेखि सामाजिक सञ्जालसम्म सहयोग अभियानसमेत सञ्चालन गरिएको थियो। उपचारकै क्रममा प्रियांसुको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।प्रियांसुसँगै सर्पदंशमा परेका उनका भाइ दिव्यांशुको स्वास्थ्य अवस्था भने अहिले सुधार हुँदै गएको बताइएको छ। उनलाई सोमबार नै विराटनगरबाट घर ल्याइएको परिवारले जनाएको छ।दुवै बालक भगवानपुरस्थित बालासुन्दरी माध्यमिक विद्यालयमा अध्ययनरत थिए। प्रियांसु कक्षा ८ र दिव्यांशु कक्षा ४ मा पढ्दै आएका थिए।प्रियांसु उनका बुवा अशोक भगतका जेठा छोरा थिए। उनका बुवा रोजगारीका लागि भारतको दिल्लीमा रहेका बेला दुई छोरालाई सर्पले डसेको खबर पाएपछि भदौ ४ गते घर फर्किएका थिए। परिवारमा दुई छोरा र एक छोरी छन्।बालकको मृत्यु भएपछि स्थानीयवासीले जिल्लामै सर्पदंशको प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले स्वास्थ्य संस्थामा पर्याप्त एन्टिस्नेक भेनम, आवश्यक औषधि तथा तत्काल उपचार सेवा उपलब्ध हुने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।